सप्तरी,०६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले बुधबार घरदैलो अभियानलाई निरन्तरता दिएकाे छ।
अध्यक्ष यादव शम्भुनाथ नगरपालिकाका विभिन्न वडा तथा टोलमा मतदातासँग भेटघाट गरी आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागेकाे थियो। पार्टीका केन्द्रीय सचिव र क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साह का अनुसार नरहैया, सखुवा, नरही, सिरकजरी, खोक्सर, कनकपट्टी र कठौना बजारका मतदातासँग भेट भएको थियो।
घरदैलोमा मतदाताहरूले बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नपाएको, बिटौरी जग्गा सम्बन्धी समस्या, प्रमुख सडक कठौना–पातो नबन्नु, बेरोजगारी, सिँचाइ र मलखाद अभाव लगायतका समस्या अध्यक्ष यादवसमक्ष राखेका छन्।
अध्यक्ष यादवले विश्वास व्यक्त गर्दै भने, “संविधान संशोधन गरी बाँकी अधिकार प्राप्तिका साथै क्षेत्रको विकास र समृद्धिका लागि प्रयासरत रहनेछु। मधेशबाट ७० प्रतिशत राजस्व उठ्छ तर ११ प्रतिशत मात्र बजेट विनियोजन हुन्छ, यो विभेद तत्काल हटाउनु आवश्यक छ।”
घरदैलो अभियानका क्रममा अध्यक्ष यादवले पूर्व सांसद दानालाल चौधरी र जगदीश साहसँग भेटघाट गरी क्षेत्रको विकास, जनताको हक–अधिकार र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेकाे थियो।
यस कार्यक्रममा केन्द्रीय नेता एवं पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सदस्य एवं मधेस प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव, केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा र रमिला साह, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल लगायतका नेताहरू सहभागी थिए। सप्तरी–३ अन्तर्गत विष्णुपुर गाउँपालिका, रुपनी गाउँपालिका, राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिका गरी कुल १ लाख ११ हजार ८७१ मतदाता रहेका छन्।



