पर्सा,०७ फागुन । पर्सागढी नगरपालिका वडा नम्बर–५ हर्दियामा विभिन्न राजनीतिक दल परित्याग गर्दै ६० भन्दा बढी स्थानीय नेता, कार्यकर्ता, युवा, बुद्धिजीवी तथा जेष्ठ नागरिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सामूहिक रूपमा भएको यो प्रवेशलाई स्थानीय स्तरमा परिवर्तनप्रतिको संकेतका रूपमा हेरिएको छ।
नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले फूलमाला र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि रास्वपा नै उपयुक्त विकल्प भएको विश्वास व्यक्त गरे।
नवप्रवेशी विकास यादवले वर्षौँसम्म योगदान दिए पनि आफ्नो आवाज नेतृत्व तहसम्म नपुगेको गुनासो गर्दै अब देश र जनताको हितमा काम गर्ने उद्देश्यले रास्वपामा आबद्ध भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले युवाका लागि रोजगारी सिर्जना, स्थानीय उद्यम प्रवर्द्धन र बन्द तथा कमजोर अवस्थामा रहेका उद्योगहरूको पुनःसञ्चालन आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। साथै, पर्सागढीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाए।
उनले यसअघि निर्वाचित जनप्रतिनिधिहरूले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै आफू निर्वाचित भए ती क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्ने बताए। मतदातासँग एक पटक अवसर दिन आग्रह गर्दै उनले अपेक्षाअनुसार काम गर्न नसके पुनः मत माग्न नआउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम उत्साहपूर्ण नाराबाजीसहित सम्पन्न भएको थियो। सहभागीहरूले परिवर्तन, नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिप्रति समर्थन जनाएका थिए। स्थानीय स्तरमा भएको यो सामूहिक पार्टी प्रवेशले पर्सा जिल्लामा नयाँ राजनीतिक विकल्पप्रति बढ्दो आकर्षण र जनविश्वासलाई संकेत गरेको विश्लेषण गरिएको छ।

