spot_img

जलेश्वर प्रादेशिक अस्पतालको सेवा सुधार गर्न युवाहरूको माग

spot_img
spot_img

जनकपुर,२९ फागुन । महोत्तरीस्थित जलेश्वर प्रादेशिक अस्पताल को सेवा सुधार गर्न स्थानीय युवाहरूले माग गरेका छन्। अस्पतालको व्यवस्थापन र सेवा प्रवाह कमजोर हुँदै गएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन्।

स्थानीय युवाहरूले शुक्रबार अस्पतालका निमित्त प्रमुख रवि श्रीवास्तव लाई ज्ञापनपत्र बुझाउँदै अस्पताल सुधारका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

युवाहरूका अनुसार मधेश प्रदेश सरकार ले मनोमानी रूपमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिन खोजेको भन्दै आपत्ति जनाइएको हो। अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष मिनु झा लाई फेरि नियुक्त गर्ने तयारी भएको खबर आएपछि स्थानीय युवाहरूले विरोध जनाएका छन्।

स्थानीय युवा नविन झा का अनुसार राजनीतिक खिचातानी, स्वार्थ समूहको प्रभाव र प्रशासनिक कमजोरीका कारण अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ। सेवा दिनप्रतिदिन कमजोर बन्दै गएको र सुधारको सट्टा राजनीतिक हस्तक्षेप बढिरहेको उनले बताए।

त्यस्तै, अर्का युवा चन्दन तिवारी ले अस्पताल व्यवस्थापनमा पारदर्शिता र दक्ष नेतृत्व आवश्यक रहेको बताए। पुरानै व्यक्तिलाई पुनः जिम्मेवारी दिन खोजिए स्वास्थ्य सेवा अझ प्रभावित हुन सक्ने भन्दै उनीहरूले सजग गराउन ज्ञापनपत्र बुझाएको बताएका छन्।

स्थानीयका अनुसार अस्पतालमा अत्याधुनिक उपकरण र ठूलो भौतिक संरचना भए पनि जनशक्ति अभाव, उपकरण मर्मत नहुनु तथा सरकारी उदासीनताका कारण सेवा कमजोर बन्दै गएको छ। डायलासिस र आईसीयूजस्ता उपकरण सञ्चालनमा नआउँदा धेरै बिरामी उपचार नपाई फर्किन बाध्य हुने अवस्था रहेको उनीहरूको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्ष मधेश प्रदेश सरकार बाट नियुक्त हुने व्यवस्था छ। स्थानीय युवाहरूले अस्पताललाई राजनीतिक प्रभावबाट मुक्त गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सक्षम नेतृत्व नियुक्त गर्न माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय