काठमाडौँ,२९ फागुन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीहरूको अभ्यासका लागि नयाँ दिशानिर्देश जारी गरेको छ।
नयाँ नियमअनुसार एउटै नेट वा पिचमा दुई टोलीले अभ्यास गर्न नपाउने व्यवस्था गरिएको छ। प्रत्येक टोलीलाई अभ्यासका लागि छुट्टै नेटहरू उपलब्ध गराइने छन् र पहिलो टोलीले प्रयोग गरेको नेट दोस्रो टोलीले प्रयोग गर्न पाउने छैन। टोलीले चाँडै अभ्यास सकाए पनि अर्को टोलीले त्यही पिच प्रयोग गर्न नपाउनेछन्।
त्यस्तै, फ्लडलाइट अन्तर्गत हुने अभ्यास खेलको अवधि अधिकतम ३ घण्टा ३० मिनेट तोकिएको छ। प्रत्येक टोलीलाई बीसीसीआईको स्वीकृतिमा आधारित अधिकतम दुई अभ्यास खेल खेल्न अनुमति हुनेछ। यस्ता खेलहरू मुख्य पिचमा नभई साइड विकेट मा मात्र सञ्चालन हुनेछन्।
आईपीएलको १९औँ संस्करण २८ मार्च बाट सुरु हुने तालिका तय गरिएको छ। उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्नेछन्। खेल एम चिन्नास्वामी स्टेडियम मा हुने भएको छ।
बीसीसीआईले आईपीएल २०२६ को पहिलो चरणको तालिका पहिले नै सार्वजनिक गरेको छ। दोस्रो चरणको तालिका भने पाँच राज्यमा हुने विधानसभा चुनावको मिति घोषणा भएपछि मात्र सार्वजनिक गरिनेछ।

