जनकपुर,०७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र पारदर्शितालाई सुदृढ बनाउँदै समृद्ध मधेश तथा समुन्नत नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री यादवले नेपाली जनताको बलिदानी, त्याग र सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको ऐतिहासिक महत्त्व स्मरण गरेकाे छ। उनले प्रजातन्त्र स्थापनाका क्रममा जीवन अर्पण गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीद परिवारप्रति सम्मान प्रकट गरे ।
मुख्यमन्त्री यादवले प्रजातन्त्रलाई नागरिक अधिकार, स्वतन्त्रता, समानता र सहभागिताको आधारका रूपमा व्याख्या गर्दै संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।
उनले मधेश प्रदेश सरकार सुशासन, सामाजिक न्याय, समावेशी विकास र आर्थिक समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारीका क्षेत्रमा गरिएका पहलमार्फत प्रजातन्त्रको प्रतिफल जनतासम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
यस अवसरले विगतका सङ्घर्षको स्मरण गराउँदै वर्तमानमा जिम्मेवार र भविष्यप्रति आशावादी बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

