सप्तरी,१४ फागुन । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका उनले ‘जंगलराजको अन्त्य र विकासको नयाँ युगको सुरुवात’ मुख्य नाराका रूपमा अघि सारेका छन्।
१५ वर्षअघि अमेरिका बसाइ त्यागेर सप्तरी फर्किएको स्मरण गर्दै राउतले यसपटकको निर्वाचनलाई शान्ति, सुशासन र तीव्र विकासको आधार तयार गर्ने अवसरका रूपमा लिएको बताए।
पहिलो प्राथमिकता : शान्ति र सुव्यवस्था
राउतले सप्तरीमा विगतमा देखिएको डर, त्रास, असुली, अपहरण र गुन्डागर्दीको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। आगजनी, लुटपाट र झुटा मुद्दा लगाउने प्रवृत्तिलाई रोक्दै सबै जाति, समुदाय र वर्गका लागि सुरक्षित वातावरण निर्माण गर्ने उनको भनाइ छ।
अधुरा योजना पूरा गर्ने दाबी
विगतको कार्यकाल साढे दुई वर्षमै सकिएकाले थुप्रै योजना कार्यान्वयनको चरणमा रहेको उनले बताए। पुनः निर्वाचित भए राजविराज बसपार्क पूर्ण सञ्चालन, गजेन्द्र नारायण सिंह अस्पतालको नयाँ भवन सञ्चालन, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउने र राजविराज–१३ स्थित मधेस कृषि विश्वविद्यालयको निर्माण सम्पन्न गर्ने उनले घोषणा गरेका छन्।
त्यस्तै अलपत्र कन्या छात्रावास र कोल्ड स्टोर निर्माणलाई पनि पूर्णता दिने योजना रहेको बताइएको छ।
रोजगारी र कृषि सुधारमा जोड
राउतले ग्रामीण महिलाका लागि ग्राम उद्योग भवनमार्फत गाउँमै रोजगारी सिर्जना गरिने बताएका छन्। कृषिमा सिँचाइ सुविधा विस्तार, मलखादको सुनिश्चित उपलब्धता र किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न पहल गर्ने उनको प्रतिबद्धता छ।
प्रतिबद्धता पत्रमार्फत राउतले सप्तरीमा शान्ति स्थापना गर्दै समृद्धि र प्रविधिमैत्री विकासको नयाँ युग सुरु गर्ने लक्ष्य लिएको बताएका छन्।

