spot_img

आजदेखि चुनाव अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा पूर्ण प्रतिबन्ध

spot_img
spot_img

काठमाडौं,१४ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागू गरिएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थको बिक्री, वितरण र सेवन रोक लगाइने भएको हो। फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ।

निर्वाचन आयोग का अनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित समितिको बैठकले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरेको हो। सुरक्षा अवस्थाको मूल्यांकन तथा आवश्यक सिफारिसका आधारमा अन्य सुरक्षा प्रबन्धसम्बन्धी निर्णयहरू समेत कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

यस्तै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पनि निषेध हुनेछ। गृह मन्त्रालय ले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिलाई समेत सक्रिय पार्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिताअनुसार निषेध गरिएका गतिविधि हुन नदिन र उल्लंघन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

मतदानको दिन अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुनेछ। अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय