महोत्तरी,१५ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले महोत्तरी क्षेत्र नम्बर १ बाट पुनः लक्ष्मी महतो कोइरी लाई उम्मेदवार बनाएको छ। कोइरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए।
२०२१ जेठ १६ मा महोत्तरीको गौशाला नगरपालिका–निगौलमा जन्मिएका कोइरी एसएलसीसम्म अध्ययन गरेका छन्। व्यवसाय र समाजसेवासँगै राजनीतिमा सक्रिय रहेका उनी महोत्तरीको राजनीतिमा सधैं चर्चामा रहने पात्रका रूपमा चिनिन्छन्।
राजनीतिक यात्रा
कोइरीले २०४७ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमार्फत राजनीति सुरु गरेका थिए। २०५४ सालमा कांग्रेस त्यागेर स्वतन्त्र रूपमा निगौल गाविस अध्यक्षमा निर्वाचित भए। पछि २०५९ मा कुशवाह समाजको केन्द्रीय कोषाध्यक्ष बनेका उनी २०७४ मा संघीय समाजवादी फोरममा प्रवेश गरे।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले महोत्तरी–१ बाट उम्मेदवारी दिए पनि त्यतिबेला गिरिराजमणि पोखरेल सँग पराजित भएका थिए। तर २०७९ को निर्वाचनअघि उनी एमालेमा प्रवेश गरे र एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार बने। उक्त निर्वाचनमा २३ हजार ४०२ मत प्राप्त गरी उनले पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरे।
कानुनी विवाद र निलम्बन
२०७२ सालको मधेश आन्दोलनका क्रममा जलेश्वरमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो। उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उनी फरार सूचीमा रहँदै निर्वाचन जितेका थिए।
निर्वाचित भएपछि संसद्मा शपथ लिएको र २०७९ पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिएको घटनाले व्यापक बहस जन्माएको थियो। पछि सोही मुद्दाका कारण २०८० वैशाख १९ मा सभामुख देवराज घिमिरे ले उनलाई सांसद पदबाट निलम्बन गरेका थिए।
झन्डै सात महिनापछि २०८० मङ्सिर २८ मा महोत्तरी जिल्ला अदालतले थमन विक हत्या तथा एम्बुलेन्स आगजनी दुवै मुद्दामा उनलाई सफाइ दिएको थियो। त्यसपछि २०८० पुस ८ मा उनको निलम्बन फुकुवा भई पुनः संसदीय भूमिकामा फर्किएका थिए।

