रुपेश पाण्डेयविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार, उम्मेदवारी यथावत

spot_img

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नं. ३ का नेकपा (एमाले) उम्मेदवार रुपेश कुमार पाण्डेयविरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ। यससँगै पाण्डेयको उम्मेदवारी यथावत रहने स्पष्ट भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पर्सा क्षेत्र नं. ३ कै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल प्रसाद यादवले दायर गरेको उत्प्रेषण मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश नदिने निर्णय गरेको हो।

रिट निवेदनमा यादवले पाण्डेय तथा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै उम्मेदवारी खारेजको माग गरेका थिए। निवेदनमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो। उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अगाडि बढाएको र सोही सन्दर्भमा मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेसँगै पाण्डेयको उम्मेदवारी कायम रहने भएको छ। अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनी चुनावी प्रक्रियामा सहभागी हुन पाउनेछन्।

अदालतको आदेश सार्वजनिक भएपछि पर्सा–३ को चुनावी माहोलमा देखिएको अन्योल हटेको राजनीतिक वृत्तमा चर्चा छ। एमाले पक्षका नेताहरूले अदालतको निर्णयलाई स्वागत गर्दै कानुनी प्रक्रिया आफ्नो पक्षमा रहेको बताएका छन् भने विपक्षी दलले मुद्दाको अन्तिम निर्णय पर्खिने प्रतिक्रिया दिएका छन्।

चुनाव नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. ३ मा कानुनी तथा राजनीतिक गतिविधि दुवै तीव्र बन्दै गएको छ। अदालतको पछिल्लो आदेशले उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई थप स्पष्ट बनाएको विश्लेषकहरू बताउँछन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय