सर्लाही,१० माघ । नेपाली कांग्रेसको परम्परागत बलियो पकड मानिने सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ अहिले राष्ट्रिय राजनीतिक चर्चाको केन्द्रमा परेको छ। कांग्रेस सभापति गगनकुमार थापा र तीन पटक विजयी भइसकेका नेता अमरेशकुमार सिंह आमनेसामने भएपछि यहाँको चुनावी माहोल तातिएको छ।
अमरेशकुमार सिंह कांग्रेसबाट दुई पटक र पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै तीन पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्। यसपटक भने उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका छन्। उता, कांग्रेस सभापति गगन थापा स्वयं मैदानमा उत्रिएपछि यो क्षेत्र प्रतिष्ठाको लडाइँका रूपमा हेरिन थालेको छ।
लगातार तीन पटक जित निकालेका सिंह र कांग्रेस सभापति थापाबीचको प्रतिस्पर्धाले मतदातामा उत्साह थपिएको छ। कांग्रेस पक्षले ‘अबकी बार गगन सरकार’ नारा अघि सारेको छ भने रास्वपा पक्षले ‘अबकी बार बालेन सरकार’ अभियानलाई मुख्य सन्देश बनाएको छ।
२०४८ सालदेखि कांग्रेसको गढ मानिँदै आएको यस क्षेत्रमा २०६४ को संविधानसभा निर्वाचनबाहेक प्रायः सबै चुनावमा कांग्रेसकै वर्चस्व रहँदै आएको छ। तर, पछिल्लो निर्वाचनमा कांग्रेसबाट अलग्गिएका अमरेश सिंहले जित निकाल्दै पार्टीको पकडमा चुनौती दिएका थिए।
यसपटक चौथो जितको लक्ष्यसहित रास्वपाबाट मैदानमा उत्रिएका सिंह कांग्रेस सभापति थापाका लागि कडा चुनौती बन्न सक्ने आँकलन गरिएको छ। जातीय मत, परम्परागत राजनीतिक प्रभाव र कांग्रेसको बलियो संगठन—यी सबै चुनावी नतिजाका निर्णायक आधार बन्ने देखिन्छ।
यस निर्वाचन क्षेत्रमा बरहथवा, गोडैता र बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका गरी ५१ वडा पर्दछन्। यहाँ कुल १ लाख २१ हजार १२ मतदाता रहेका छन्। निर्वाचनका लागि ८१ मतदान स्थल र १५४ मतदान केन्द्र तोकिएका छन्। सर्लाही–४ मा गगन र अमरेशबीचको टक्करले यसपटकको निर्वाचनलाई मधेशकै सबैभन्दा चासोपूर्ण प्रतिस्पर्धामध्ये एक बनाएको छ।

