काठमाडौं,२५ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट पराजित भएका छन्।
घिसिङले प्रत्यक्षतर्फ आफ्नै दल उज्यालो नेपाल पार्टीबाट चुनाव लडेका थिए भने समानुपातिकतर्फ राष्ट्रिय परिवर्तन पार्टीलाई सहयोग गरेका थिए। तर प्रत्यक्ष निर्वाचनतर्फ न त उज्यालो नेपाल पार्टीले कुनै सिट जित्न सक्यो, न त राष्ट्रिय परिवर्तन पार्टीले नै सफलता हात पार्न सक्यो।
समानुपातिक मततर्फ भने राष्ट्रिय परिवर्तन पार्टीले एक लाखभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्मको मतगणनाअनुसार पार्टीले करिब १ लाख १९ हजार ५०० मत पाएको छ, जुन कुल मतको करिब १.४३ प्रतिशत हो। तर आवश्यक मत सीमा नपुग्दा उक्त दलले प्रतिनिधिसभामा कुनै सिट प्राप्त गर्न सकेन।
घिसिङले ‘बाँसुरी’ चुनाव चिन्हमार्फत राष्ट्रिय परिवर्तन पार्टीलाई समानुपातिकतर्फ समर्थन गरेका थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्भावित एकीकरणको चर्चा चलिरहेका बेला बन्दसूचीमा समयमै नाम दर्ता गर्न नसक्नु र पार्टीभित्र देखिएको आन्तरिक कलहका कारण अन्ततः उक्त दल संसदमा प्रतिनिधित्व गर्न असफल भएको विश्लेषण गरिएको छ।

