महोत्तरी,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ झण्डै २० हजार मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १९ हजार ९३५ मत बदर भएको हो।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४ मत बदर भएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० तथा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको छ।
महोत्तरीमा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका थिए। तीमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा दुई लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए, जुन कुल मतदाताको ६०.५९ प्रतिशत हो।
खसेको मतमध्ये दुई लाख ४१ हजार ४११ मत अर्थात् ९२.३७ प्रतिशत मत सदर भएको छ भने १९ हजार ९३५ मत अर्थात् ७.६२ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

