बीरगन्ज,२५ फागुन । बीरगन्ज महानगरपालिकाले हालै सम्पन्न निर्वाचनका क्रममा प्रयोग गरिएका चुनावी प्रचार सामग्रीहरू तत्काल हटाउन राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ।
महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न निर्वाचनको समयमा विभिन्न दल तथा उम्मेदवारहरूले प्रयोग गरेका ब्यानर, पोस्टर, पर्चा, फ्लेक्स र होर्डिङ बोर्डजस्ता प्रचार सामग्रीहरू अझै पनि महानगर क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा टाँसिएको तथा राखिएको अवस्थामा रहेको जनाएको छ।
महानगरपालिकाका अनुसार यस्ता सामग्रीहरू सडक, चोक, सार्वजनिक स्थल तथा विद्युत् पोलहरूमा रहँदा शहरको सौन्दर्यमा असर पर्ने मात्र होइन, सरसफाइ व्यवस्थापनमा समेत समस्या उत्पन्न भइरहेको छ। त्यसैले सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आफूहरूले प्रयोग गरेका प्रचार सामग्रीहरू यथाशीघ्र हटाउन आग्रह गरिएको हो।
महानगरपालिकाले शहरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले नियमित सरसफाइ अभियान सञ्चालन गरिरहेको जनाएको छ। यस अभियानलाई प्रभावकारी बनाउन चुनावी प्रचार सामग्री हटाउन सबै पक्षको सहकार्य आवश्यक रहेको महानगरले उल्लेख गरेको छ।
साथै सार्वजनिक स्थलहरूमा जथाभावी पोस्टर, ब्यानर तथा फ्लेक्स राख्दा शहर व्यवस्थापनमा समस्या हुने भएकाले भविष्यमा यस्ता गतिविधि नियन्त्रण गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाहरूलाई जिम्मेवार बन्न महानगरपालिकाले आग्रह गरेको छ।
महानगरपालिकाले शहरको सौन्दर्य जोगाउन र वातावरण स्वच्छ राख्न चुनावपछि प्रयोग भएका प्रचार सामग्रीहरू हटाउने कार्यमा तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

