बीरगन्ज,२५ फागुन । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे आन्तरिक रूपमा समीक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।
झाँक्रीले पार्टीभित्र बैठक बसेर निर्वाचन परिणामको विस्तृत समीक्षा गरिने बताउँदै कहाँ कमजोरी भयो, जनताको अपेक्षा के थियो र पार्टीले के पूरा गर्न सकेन भन्ने विषयमा छलफल हुने उल्लेख गरिन्।
उनले भनिन्, “एमालेको मत किन घट्यो भन्नेबारे बैठक बसेर समीक्षा हुन्छ। त्यसबाट नै हामी कहाँ चुक्यौँ, के गर्नुपर्थ्यो र जनताको अपेक्षा के थियो भन्ने कुरा स्पष्ट हुनेछ।” यसैबीच उनले एमालेको नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको स्पष्ट पारिन्। अहिलेको अवस्थामा नेतृत्व परिवर्तनको एजेण्डा नै नबनेको उनले बताइन्।
“तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन। यसबारे पार्टीको बैठकमा एजेण्डा बनेको छैन,” उनले भनिन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ। सोही निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत बालेन शाहसँग पराजित भएका छन्।

