पर्सा– १ मा उम्मेदवार बनेका ३० मध्ये २७ जनाको जमानत जफत

spot_img

बीरगन्ज,२५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा २७ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पर्सा– १ मा दलगत र स्वतन्त्र गरी ३० जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा तीमध्ये २७ जनाको जमानत जफत भएको हो ।

निर्वाचन आयोगका अनुसार, मतगणनाका क्रममा कूल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्यााउने उम्मेदवारको जमानत जफत हुन्छ । जमानत जफत भनेको उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा राखेको धरौटी रकम फिर्ता नहुने हो ।

पर्सा– १ मा कुल ३० उम्मेदवारहरूले प्रतिस्पर्धा गरेको भएपनि तीमध्ये केवल तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् । रास्वपाका बुद्धिप्रसाद (हरि) पन्तले २७ हजार २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । नेकपा (एमाले) का पूर्व मन्त्री प्रदीप यादवले १३ हजार ३० मत र नेपाली काँग्रेसका अनिल कुमार रुङटाले ११ हजार ८८५ मत प्राप्त गर्दै जमानत बचाएका छन् ।

पर्सा – १ मा जमानत जफत हुनेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्द किशोर प्रसाद श्रीवास्तव (१ हजार २७२ मत), जसपा नेपालका रामनरेश प्रसाद यादव (१ हजार २०१ मत), नेकपाका अजय चौरसिया (५३७ मत), उज्ज्वल नेपाल पार्टीका रामकिशोर सिंह (पराग) (४१५ मत), स्वतन्त्रका विशाल कुमार सर्राफ (३८१ मत), जनमत पार्टीका ओमप्रकाश सर्राफ (३४१ मत), पिपुल्स फस्ट पार्टीका जावेद एकबाल हैदर (२४२ मत) र राष्ट्र निर्माण दल नेपालका मोहम्मद उमर खान (२४० मत) रहेका छन् ।

जमानत जफत हुनेहरूमा नन्द किशोर प्रसाद श्रीवास्तव चलचित्र निर्माता तथा वीरगन्जका पूर्व मेयर विमल श्रीवास्तवका सहोदर भाइ हुन् । रामनरेश प्रसाद यादव जसपा नेपाल पर्साका अध्यक्ष तथा दुई पटक मधेस प्रदेशसभा सदस्यमा पराजित भइसकेका नेता हुन् । रामकिशोर सिंह (पराग) वीरगन्ज महानगरपालिका–२० का पूर्व वडाध्यक्ष हुन् । चुनाव लड्न कै लाग्ने उनले वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए । ओमप्रकाश सर्राफ जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुन् । मोहम्मद उमर खान ३५ लाख फलोअर्स भएका टिकटक स्टार हुन् ।

यसबाहेक, नेपाल लोकतान्त्रिक पार्टीका शालिकराम प्रसाद कानु (१०२ मत), श्रम संस्कृति पार्टीका वासिम शेष (९० मत), आम जनता पार्टीका विश्वराज पटेल (५४ मत), नेपाल जनता पार्टीका सुरेश प्रसाद साह कानु (४६ मत), जन अधिकार पार्टीका महेश कुमार पासवान (३४ मत), नेपाल मजदुर किसान पार्टीका प्रमोद प्रसाद पटेल (४१ मत), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का शङ्कर कुमार कर्ण (११ मत), नेपाल सङ्घीय समाजवादी पार्टीका सोएब अन्सारी (१० मत) , स्वतन्त्र उम्मेदवारहरू पुकार थापा (५ मत), मोहम्मद साजिद अलि (५ मत), नरेश कुमार यादव (४ मत), शिव प्रसाद कोइरी (४ मत), अनिल प्रसाद यादव (३ मत), अभिनाश चौरसिया (३ मत), आर्यशशिकला राउत (३ मत), दीप राज वर्मा (३ मत), विशाल कुमार पाण्डेय (३ मत), प्रेम मेहता (१ मत) र सरोज प्रसाद यादव (१ मत) को पनि जमानत जफत भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय