काठमाडौं, २६ फागुन । जवाफदेहिता निगरानी समितिले भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
समितिले प्रतिवेदन सार्वजनिक गरेर पीडित समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई सत्यतथ्यबारे जानकारी पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ।
समितिका संयोजक राजुप्रसाद चापागाईंले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले तयार पारेको समग्र प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको इच्छामा निर्भर हुने विषय नभएको उल्लेख गरिएको छ। नागरिकले छानबिन प्रतिवेदनबारे जानकारी पाउनु संविधानले दिएको अधिकार भएकाले त्यसलाई शीघ्र सार्वजनिक गर्नु सरकारको दायित्व भएको समितिको भनाइ छ।

