यसपालि ६ वटा दलले राष्ट्रिय मान्यता पाउने

spot_img

काठमाडौं,२६ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको नतिजा घोषणा गरिसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। उपलब्ध परिणामका आधारमा नयाँ प्रतिनिधिसभामा दलहरूको शक्ति सन्तुलन लगभग स्पष्ट भइसकेको छ।

प्रत्यक्ष निर्वाचनमा १२५ सिट जित्दै पहिलो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ। यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेर दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाखभन्दा बढी मतसहित दोस्रो स्थान कायम गरेको छ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमाले तेस्रो स्थानमा रहँदै समानुपातिकमा १४ लाखभन्दा बढी मत प्राप्त गरेको छ। साथै प्रत्यक्षतर्फ चौथो स्थानमा रहेको नेकपा, पाँचौँ स्थानमा रहेको श्रमशक्ति पार्टी र एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्।

यस परिणामसँगै यी छ दलले राष्ट्रिय दलको मान्यता पाउने अवस्था बनेको छ।

अर्कोतर्फ, अघिल्लो निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका जसपा–नेपाल र जनमत पार्टीले यसपटक प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेनन् भने समानुपातिकतर्फ पनि आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिएको छैन।

कानूनी व्यवस्थाअनुसार राष्ट्रिय दलको मान्यता प्राप्त पार्टीहरूले अर्को निर्वाचनसम्म आफ्नो चुनाव चिह्न सुरक्षित राख्न पाउँछन्। यद्यपि राष्ट्रिय दल नभए पनि दुई वा सोभन्दा बढी सांसद भएका दलहरूले संसदीय दलको कार्यालय र अन्य सुविधाहरू पाउने व्यवस्था रहेको छ। साथै त्यस्ता दलहरूले आफ्ना सांसदहरूलाई ह्विप जारी गर्न पनि सक्छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय