रौतहट,२८ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि निःशुल्क निवेदन लेख्ने व्यवस्था बन्द गरेको छ ।
तत्कालीन प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको निर्देशनमा गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै ठाडो निवेदन (उजुरी) निःशुल्क लेखिदिने व्यवस्था सुरु गरिएको थियो । सोही आधारमा जिल्लाका सबै प्रहरी कार्यालयमा पीडितलाई निःशुल्क रूपमा निवेदन लेखिदिने तथा आवश्यक फर्म उपलब्ध गराउने व्यवस्था सुरु गरिएको थियो ।
गत वर्ष माघ १२ गते तत्कालीन एसपी घिमिरेको निर्देशन भएसँगै एक महिनामै जिल्लाभर ४२६ जना लाभान्वित भएका थिए । प्रहरीको तथ्याङ्कअनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ९१, इलाका प्रहरी कार्यालय गरुडामा ५५, जिल्ला प्रहरी कार्यालय रौतहटमा २९ तथा इलाका प्रहरी कार्यालय मौलापुरमा २० जनाले निःशुल्क सेवा लिएका थिए ।
कुल २३४ जनाको निवेदन प्रहरीले नै लेखिदिएको थियो भने १९२ जनाले प्रहरीले उपलब्ध गराएको ढाँचामा स्वयं निवेदन भरेका थिए । यसअघि सामान्य ठाडो निवेदन लेखिदिएबापत ३०० देखि ७०० रुपैयाँसम्म लेखनदासलाई बुझाउनुपर्ने बाध्यता थियो ।
प्रहरी स्वयंले निःशुल्क निवेदन लेख्न थालेपछि जिल्लाका विभिन्न थाना–चौकी आसपास सञ्चालनमा रहेका दर्जनौँ लेखनदास (निवेदन लेख्ने) पसलसमेत बन्द भएका थिए । प्रहरीको यो पहलको जिल्लावासीले खुलेर प्रशंसा गरेका थिए ।
तर एसपी घिमिरेको सरुवा भएको केही समयसम्म जारी रहेको उक्त व्यवस्था पछिल्ला केही महिनादेखि बन्द भएको छ । परिणामस्वरूप अहिले पुनः पीडित नागरिकले सामान्य निवेदन लेखाउनसमेत पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

