काठमाडौं,२८ फागुन । चितवनको भरतपुरस्थित जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै करिब १०० जना सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। फरारमध्ये ११ जना भारतीय नागरिक रहेको जानकारी पनि सार्वजनिक गरिएको छ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा कारागारबाट ४ जना नाबालकसहित कुल ७४३ जना कैदीबन्दी फरार भएका थिए। कारागार कार्यालयका अनुसार हालसम्म ६४३ जना कैदीबन्दी फर्किसकेका छन्। तीमध्ये केही स्वेच्छाले कारागार फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो।
कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले गम्भीर प्रकृतिका अपराधमा संलग्न कैदीबन्दी फरार रहँदा समुदायमा आपराधिक गतिविधि बढ्ने जोखिम रहने बताएका छन्।
कारागार प्रशासनले गत असोज २० गतेसम्म सम्पर्कमा आउन फरार कैदीबन्दीलाई आग्रह गरेको थियो। तोकिएको समयभित्र सम्पर्कमा नआए कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। साथै, फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गरिने जनाइएको छ।
हाल चितवन कारागारमा ३८ जना महिलासहित कुल ६८५ जना कैदीबन्दी रहेका छन्।

