जनकपुर,२८ फागुन । विशेष अदालतले हंसपुर नगरपालिकामा सडक निर्माण योजनामा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र इन्जिनियरसहित ५ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो।
अदालतले इन्जिनियर दिनेश कुमार मण्डल र सबइन्जिनियर विनोद मण्डललाई गलत प्रतिवेदन पेस गरेको ठहर गर्दै जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम लोचन मण्डल, लेखापाल नेत्र लुङ्गेली तथा निर्माण व्यवसायी शुभचन्द्र मण्डललाई ४ महिना कैद सजाय सुनाइएको छ।
अदालतले वास्तविक कामभन्दा बढी नापी–मूल्याङ्कन गरी भुक्तानी गरिएको ७ लाख ८१ हजार ८१८ रुपैयाँ ती तीनै जनाबाट दामाशाहीका आधारमा असुल गर्ने आदेश पनि दिएको छ। साथै सो रकममा थप ४ प्रतिशत क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्ने निर्णय गरिएको छ।
उक्त प्रकरणमा आरोपित रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, प्रशासन शाखा प्रमुख ज्ञानकुमार झा र खरिदार शत्रुघ्न साहलाई भने अदालतले सफाइ दिएको छ। उनीहरूविरुद्ध बदनियत पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको अदालतको ठहर छ।
हंसपुर नगरपालिकाको सुगा निकासदेखि कट्टीसम्मको सडकमा पिसिसी ढलान निर्माणका लागि नगरपालिका र देव कन्स्ट्रक्सनबीच २०७७ असार १७ गते सम्झौता भएको थियो।
वास्तविक रूपमा सम्पन्न कामभन्दा बढी नापी गरी ७ लाख ८१ हजार ८१८ रुपैयाँ बढी भुक्तानी गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा दायर गरेको थियो।




