काठमाडौं,२८ फागुन । इरानले बुधबार राति इराकको बसरा नजिक अमेरिकी स्वामित्वमा रहेको तेल ट्यांकरमा आक्रमण गरेको छ। इरानी डुंगाले मार्सल टापुको झन्डा बोकेको उक्त तेल ट्यांकरमा ठक्कर दिँदा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको इराकस्थित भारतीय दूतावासले पुष्टि गरेको छ। मृतकको नाम भने सार्वजनिक गरिएको छैन। जहाजमा रहेका अन्य १५ भारतीय नागरिकलाई भने सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ।
इराकी तटरक्षक दलले तेल ट्यांकरमा रहेका चालक दलका सबै २८ जनाको उद्धार गरेको जनाएको छ। तीमध्ये १६ जना भारतीय र १२ जना फिलिपिन्सका नागरिक रहेका थिए। उद्धार गरिएका सबैलाई सुरक्षित रूपमा बसरा बन्दरगाहमा पुर्याइएको छ।
रिपोर्टका अनुसार विस्फोटक पदार्थ बोकेको इरानी डुंगाले ट्यांकरमा ठक्कर दिँदा ठूलो विस्फोट भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार विश्वभरका नाविकमध्ये १५ प्रतिशतभन्दा बढी भारतीय नागरिक हुने भएकाले यस्ता समुद्री आक्रमणमा भारतीय नागरिक प्रभावित हुने जोखिम उच्च रहेको बताइएको छ।

