बीरगन्ज,२९ फागुन । बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई कम गर्न नेपाल आयल निगमले आजदेखि ‘आधा सिलिन्डर’ ग्यास वितरण गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा बढ्दो युद्धको असर र आपूर्ति अवरोधको त्रासका कारण ग्यासको असामान्य माग बढेपछि निगमले यस्तो कदम चालेको जनाएको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले १४.२ केजीको पूरा सिलिन्डरको सट्टा ७.१ केजीको आधा सिलिन्डर मात्र खरिद गर्न पाउनेछन्। यसको मूल्य पनि पूरा सिलिन्डरको तुलनामा आधा नै निर्धारण गरिएको छ। उनका अनुसार यो निर्णयले सीमित आपूर्तिलाई धेरै उपभोक्तासम्म पुर्याउन मद्दत गर्नेछ।
निगमले आधा सिलिन्डर वितरण गर्दा ग्यास वितरण क्षमता लगभग दोब्बर हुने अपेक्षा गरेको छ। पहिले एक हजार उपभोक्ताले ग्यास पाउँदा अब त्यही परिमाणबाट झण्डै दुई हजार उपभोक्ताले ग्यास पाउने सम्भावना रहेको निगमको भनाइ छ। यसले ग्यास नपाएर खाली सिलिन्डर बोकेर लामो लाइन बस्नुपर्ने समस्या केही हदसम्म कम गर्ने विश्वास गरिएको छ।
यस निर्णयले घरमा धेरै सिलिन्डर थुपारेर राख्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्ने निगमले जनाएको छ। आधा सिलिन्डर वितरण हुँदा अनावश्यक रूपमा ग्यास सञ्चय गर्ने सम्भावना घट्ने र बजारमा ग्यासको नियमित आपूर्ति चक्र चलिरहने अपेक्षा गरिएको छ।
पश्चिमी एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र आपूर्ति मार्गमा जोखिम देखिएपछि पछिल्ला दिनहरूमा बजारमा कृत्रिम अभावको अवस्था देखिएको थियो। तर निगमले ग्यासको आयात नियमित भइरहेको बताउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र नआत्तिन आग्रह गरेको छ।

