spot_img

गहुँको समर्थन मूल्य निर्धारणका लागि उद्योग मन्त्रालयमा प्रस्ताव पठाइयो

spot_img
spot_img

काठमाडौँ, ३० फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गर्न आवश्यक प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रस्ताव पठाएको छ।

किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले कृषि विभागमार्फत विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिएको थियो। अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने लागत, बीउ, मल, श्रम, मुद्रास्फीति तथा बजार मूल्यको आधारमा न्यूनतम समर्थन मूल्यको सिफारिस गरिएको कृषि विभागले जनाएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार स्थलगत अध्ययनपछि वैज्ञानिक आधारमा तयार गरिएको सिफारिस कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको हो।

उद्योग मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेछ र मन्त्रिपरिषद्को निर्णयपछि गहुँको समर्थन मूल्य औपचारिक रूपमा निर्धारण गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ मा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ तोकिएको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ६५० रुपैयाँ र २०७९/८० मा तीन हजार ३५१ रुपैयाँ कायम गरिएको थियो।

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद गरिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय