वीरगन्ज,३० फागुन । विश्व सिख वातावरण दिवसको अवसरमा वीरगन्ज–४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। गुरुनानक सेवा प्रतिष्ठान शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा विद्यालय प्रांगणमा सरसफाइसँगै विभिन्न प्रजातिका विरुवा रोपिएको थियो।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहका अनुसार निम, गुलमोहर, जाक्रन्डा, अम्बा, जामुन, अमला, कैसुला, कल्की, कागती, बेगलबेलिया, गन्धराज, मोगरा, पारिजात, इन्द्रकमल र कामिनी गरी १०० भन्दा बढी विरुवा रोपिएका छन्।
कार्यक्रम सरदार जसपाल सिंहकै अध्यक्षतामा र समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा डा. गणेश अग्रवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेशमान सिंह, प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, समाजसेवी प्रकाश उपाध्याय, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जतिन्दर सिंह, रुपनारायण सिंह, शिक्षकहरू विनोद स्वर्णकार र प्रेम पटेल, सञ्चारकर्मी आकाश पटेल साथै दृष्टिबिहिन छात्रावासका छात्रछात्राहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमले विद्यार्थी र स्थानीय बासिन्दामा वातावरण संरक्षण र वृक्षारोपणको महत्वबारे चेतना जगाउने उद्देश्य राखेको बताइएको छ।

