पाकिस्तान,३० फागुन । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्षित गर्दै ड्रोन आक्रमण गरेको र यसले “रेड लाइन” पार गरेको शनिबार बताएका छन्।
पाकिस्तानी सेनाले तत्काल प्रतिक्रिया जनाएपछि आक्रमणकारी तालिबान ड्रोन इस्लामाबाद नजिकै रावलपिन्डीस्थित मुख्यालयसम्म पुग्न सकेनन्। विज्ञहरूले तालिबानले स्थानीय रूपमा उत्पादित ड्रोनहरू प्रयोग गरी आक्रमण गरेको पुष्टि गरेका छन्। यसै क्रममा दक्षिणपश्चिम क्वेट्टामा दुई बालबालिका, उत्तरपश्चिममा पेशावरको कोहाट र रावलपिन्डीमा एक–एक सर्वसाधारण घाइते भएका छन्।
सुरक्षा स्रोतहरूले ड्रोन पत्ता लागेपछि राजधानी वरिपरि हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएका छन्। यसअघि अफगानिस्तानको काबुलमा चार जना र सीमावर्ती प्रान्तहरूमा दुई जनाको मृत्यु भएको रिपोर्ट छ।
जरदारीको कार्यालयले सामाजिक सञ्जाल एक्स मार्फत तालिबानको यस आक्रमणको कडा निन्दा गरेको छ र पाकिस्तानमा नागरिकमाथि लक्षित हिंसाको अन्त्य माग गरेको छ।
तालिबानले आतंकवादका लागि अफगान क्षेत्र प्रयोग गरेको दाबी अस्वीकार गरेको छ भने पाकिस्तानले सर्वसाधारणलाई लक्षित नगर्ने कुरामा जोड दिएको छ। पछिल्लो समयमा सीमामा बारम्बार झडपका कारण व्यापार प्रभावित भएको र स्थानीय बासिन्दाहरूलाई घर छोड्न बाध्य पारिएको सुरक्षा स्रोतहरूले बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय मिशन (युएनएएमए) का अनुसार फेब्रुअरी २६ देखि अफगानिस्तानमा भएको झडपमा कम्तीमा ७५ सर्वसाधारणको मृत्यु र १९३ घाइते भएकाे जनाएको छ ।

