वीरगंज, ७ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवप्रति जनता तथा मतदाताहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको एमाले नेताहरूले बताएका छन्। नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार यादवको सक्रिय चुनावी अभियान, विगतदेखि विकासप्रतिको प्रतिबद्धता र लोकप्रिय एजेन्डाका कारण मतदाताको स्पष्ट रुझान उनीतर्फ देखिएको हो।

सचिव दासले निरन्तर भइरहेको घरदैलो, चुनावी प्रचार–प्रसार तथा पार्टी प्रवेश कार्यक्रमहरूमा देखिएको जनसहभागिताले पर्सा क्षेत्र नं. १ मा एमालेको अवस्था बलियो बनेको दाबी गरे। उनका अनुसार प्रदीप यादवले असल, इमानदार तथा विकासप्रति समर्पित नेताको छवि निर्माण गरेका कारण नै पार्टीले उनलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाएको हो।
दासले अन्य पार्टीका उम्मेदवारहरू प्रायः व्यापारी तथा उद्योगपति पृष्ठभूमिका रहेको उल्लेख गर्दै राजनीतिक अनुभव र स्पष्ट दृष्टिकोणको अभावका कारण प्रतिस्पर्धा कमजोर बनेको टिप्पणी गरे। “प्रतिस्पर्धा राजनीतिक कर्मीहरूबीच हुनुपर्छ, तर यहाँ राजनीतिक छवि भएका उम्मेदवार नभएकाले प्रदीप यादवको जित सुनिश्चित छ,” उनले नेपाल पोस्ट डेलीसँग भने।
पर्सा क्षेत्र नं. १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाइ, रोजगारी, विद्युत् तथा अन्य पूर्वाधार विकासका विषयमा एमालेसँग स्पष्ट नीति, योजना र प्रतिबद्धता रहेको उल्लेख गर्दै दासले जनताले विकासका लागि प्रदीप यादवलाई मत दिनेमा आफूहरू विश्वस्त रहेको बताए।
नेपाली काग्रेस,रास्वपा लगायतका दलले मतदातालाई पछयाई रहेको भएपनि यस पटक पर्सेली जनतालाई कसैले ढग्न नसक्ने नेता दासको भनाई छ ।

