सर्‍यो जनमत पार्टीको महाधिवेशन

spot_img

काठमाडौँ,०१ चैत । जनमत पार्टीले आफ्नो आगामी महाधिवेशनको मिति परिवर्तन गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वनिर्धारित मिति सार्ने निर्णय गरेको हो।

यसअघि पार्टीले चैत २० र २१ गते महाधिवेशन गर्ने तय गरेको थियो। तर अब महाधिवेशन २०८३ साल असोज ९ र १० गते आयोजना गर्ने निर्णय गरिएको छ। पार्टीका महासचिव चन्दन सिंहका अनुसार संगठन सुदृढीकरण तथा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न समय आवश्यक भएकाले महाधिवेशन सारिएको हो।

बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको विस्तृत समीक्षा गर्ने निर्णय पनि गरेको छ। त्यसअनुसार क्षेत्रीय स्तरमा चैत ७ गतेसम्म बैठक आयोजना गरी निर्वाचनसम्बन्धी समीक्षा गरिने र त्यसको लिखित प्रतिवेदन केन्द्रीय सचिवालयमा पठाइने व्यवस्था गरिएको महासचिव सिंहले जानकारी दिए।

त्यसैगरी पार्टी संगठनलाई थप मजबुत बनाउन देशभरका जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने निर्णय पनि गरिएको छ। जिल्ला समन्वय समितिका सदस्यहरूमध्येबाट बढीमा सात जनासम्म पदाधिकारी रहने गरी चैत १४ गतेसम्म भौतिक बैठकमार्फत चयन प्रक्रिया पूरा गरिने जनाइएको छ। उक्त प्रक्रिया केन्द्रीय सचिवालयबाट खटाइएका प्रतिनिधिको उपस्थितिमा सम्पन्न गरिने पार्टीले जनाएको छ।

पार्टीका अनुसार निर्वाचनपछिको समीक्षा र संगठन पुनर्गठनलाई प्राथमिकता दिँदै महाधिवेशन सार्ने निर्णय गरिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय