जनकपुर,०१ चैत । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलुको उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतको यस निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवको जित यथावत् रहने भएको छ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। उम्मेदवारी कायम राख्न माग गर्दै साहले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
यसअघि निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम परेको आधारमा फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो। साहको स्वामित्वमा रहेको एक निर्माण कम्पनी कालोसूचीमा परेपछि आयोगले यस्तो निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा पहिलो रिट दायर गरेका थिए। यसको पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो भने फागुन २९ गतेका लागि तोकिएको अर्को सुनुवाइ हुन सकेको थिएन।
यसैबीच साहले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रले आफूलाई कालोसूचीमा राखेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट पनि दायर गरेका थिए। उक्त रिटमा न्यायाधीश शारंगा सुवेदीको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै केन्द्रबाट प्राप्त पत्रमा साह कालोसूचीमा नदेखिएकाले अन्तरिम आदेश जारी गरेको थियो।
तर आइतबार सर्वोच्चले उम्मेदवारी खारेजको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि साहको उम्मेदवारी खारेज नै कायम रहने भएको छ। यससँगै निर्वाचन आयोगले घोषणा गरेअनुसार धनुषा–१ बाट नेकपाका मातृका यादव निर्वाचित भएको परिणाम यथावत् रहने भएको छ।

