चौधरी सवार गाडीबाट भेटिएको संकास्पद वस्तु प्रकरण: सर्वदलीय दलद्वारा छिटो अनुसन्धानको माग

spot_img

बीरगन्ज,०४ चैत । पर्सा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज कुमार चौधरीसँग सम्बन्धित घटनाबारे निष्पक्ष र छिटो अनुसन्धान गर्न माग गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी पर्साको आयोजनामा चैत्र ३ गते बसेको सर्वदलीय बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलहरूले उक्त घटनाले गम्भीर प्रश्न उठाएको बताएका हुन्। विज्ञप्तिमा चौधरीलाई एक मिलनसार, सक्रिय तथा जिम्मेवार राजनीतिक व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ।

विज्ञप्ति अनुसार २०८२ फागुन १९ गते साँझ वीरगंज फर्किने क्रममा सुरक्षा जाँचका बेला चौधरी सवार गाडीको डिकीबाट संकास्पद वस्तु फेला परेको भन्दै प्रहरीले चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। तर घटना भएको १६ दिन बितिसक्दा पनि उक्त वस्तु के थियो, कसले राख्यो र किन राखियो भन्ने विषय अझै स्पष्ट हुन नसकेको भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन्।

राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिसभा उम्मेदवारकै गाडीमा विस्फोटक पदार्थ राखेर हिँड्नु अस्वाभाविक देखिने भन्दै दलहरूले यस घटनामा षड्यन्त्रको सम्भावना रहेको आशंका व्यक्त गरेका छन्। साथै घटनाको भोलिपल्ट अर्को स्थानमा फेला परेको वस्तुसँग जोडेर घटनालाई थप जटिल बनाउने प्रयास भइरहेको संकेत पनि गरिएको छ।

दलहरूले अनुसन्धानको नाममा अनावश्यक ढिलाइ भइरहेको र यसले मनोवैज्ञानिक दबाब सिर्जना गर्दै निर्दोष व्यक्तिहरूलाई फसाउने प्रयास हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायलाई ढिलाइ नगरी निष्पक्ष छानबिन गरी यथाशीघ्र न्यायिक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
“ढिलो गर्नु न्याय नदिनु सरह हो,” भन्दै विज्ञप्तिमा तत्काल घटना प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्न माग गरिएको छ। साथै आफ्नो सदासयतालाई कमजोरी नठान्न चेतावनी दिँदै आवश्यकता परे थप कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ।

संयुक्त विज्ञप्तिमा नेपाली काँग्रेसका रामनारायण कुर्मी, नेकपा (एमाले) का सुन्दर कुर्मी, जसपा नेपालका रामनरेश यादव, जसपाका तबरेज अहमद, जनमत पार्टीका ओमप्रकाश सर्राफ, प्रलोपाका अभिताभ बचन दास, राप्रपाका पन्नालाल पटेल, राष्ट्रिय जनमोर्चाका हिमालचन्द्र गौतम, वैज्ञानिक समाजवादी पार्टीका धनबहादुर श्रेष्ठ, पिपुल फस्ट पार्टीका बिरेन्द्र कण्ठ तथा नेपाली कम्युनिष्ट पार्टीका बालगोपाल थापा र रामदरश कुशवाहाले हस्ताक्षर गरेका छन्।

यसैबीच ती सबै दलका प्रतिनिधिहरूले घटनाबारे पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेट गरी छलफल गरेका छन्। उक्त भेटमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक लगायतको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय