प्याब्सनको दोस्रो राष्ट्रिय परिषद बैठकमा पर्सा जिल्ला कार्यसमिति सम्मानित

spot_img

काठमाडौं, चैत ४ — निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठक २०८२ का अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ। बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशबाट एकमात्र पर्सा जिल्ला कार्यसमिति उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएको हो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले सम्मानपत्र ग्रहण गरेका थिए। उनलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी तथा प्रमुख सल्लाहकार डिके ढुंगानाले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।

सचिव अशोक संग्रौलाका अनुसार, संगठनका नीति, नियम र निर्देशनहरूको पूर्ण पालना गर्दै संगठनको गरिमा उच्च राख्न सक्रिय तथा जिम्मेवार भूमिका निर्वाह गरेको आधारमा पर्सा कार्यसमितिलाई छनोट गरिएको हो। साथै शिक्षा क्षेत्रको गुणस्तरीय विकासमा योगदान पुर्‍याउनुका साथै संस्थागत विद्यालयहरूको हकहित संरक्षण र संगठनको सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेको कारण पनि पर्सालाई यो सम्मान प्रदान गरिएको उनले बताए।

पर्सा कार्यसमितिले विद्यालय, शिक्षक तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थी लक्षित अतिरिक्त क्रियाकलाप तथा अभिभावक–विद्यालय समन्वयलाई सुदृढ बनाउने प्रयासले जिल्लामा निजी विद्यालयहरूको स्तर उकास्न महत्वपूर्ण योगदान पुगेको मानिन्छ।

कार्यक्रममा देशभरका विभिन्न जिल्ला कार्यसमितिहरूको सहभागिता रहेको थियो। परिषद् बैठकले आगामी शैक्षिक नीति, संगठनको रणनीति तथा संस्थागत विद्यालयहरूको चुनौती र समाधानका विषयमा समेत विस्तृत छलफल गरेको थियो।

प्याब्सन पर्साको यो उपलब्धिलाई शिक्षा क्षेत्रमा सक्रिय सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। यसले अन्य जिल्लाहरूलाई पनि संगठनात्मक अनुशासन र शैक्षिक गुणस्तर सुधारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय