काठमाडौं,०७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी क्षेत्रसहित सात देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेपछि यतिबेला यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ।
यसअघि इजरायल–इरान तनावका कारण सरकारले १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको थियो। तर, बिदामा नेपाल आएका तथा फर्किन नसकेका श्रमिकहरू समस्यामा परेपछि मन्त्रालयले साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति खुला गरेको हो।
सरकारका अनुसार ती देशहरूको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको, हवाई सेवा क्रमशः सञ्चालनमा आएको र विभिन्न निकाय तथा प्रवासी नेपालीहरूबाट आएको अनुरोधका आधारमा निर्णय गरिएको हो। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि इजरायल–इरान द्वन्द्वसँग प्रत्यक्ष सम्बन्धित मुलुकबाहेकका क्षेत्रमा जोखिम कम भएको बताएका छन्।
तर, वैदेशिक रोजगार क्षेत्रका केही सरोकारवालाहरूले भने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार युद्ध पूर्ण रूपमा समाप्त नभइसकेको अवस्थामा श्रमिकलाई पुनः पठाउँदा भविष्यमा उद्धार गर्नुपर्ने जोखिम बढ्न सक्छ। विशेषगरी दैनिक सयौँको संख्यामा श्रमिक पुनः विदेश जान थालेपछि सम्भावित संकट व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने उनीहरूको तर्क छ।
सरकार भने श्रमिकहरूको गुनासो सम्बोधन गर्न र रोजगारीमा फर्किने वातावरण सहज बनाउन यो निर्णय आवश्यक भएको बताउँदै आएको छ।




