spot_img

पर्सा–२ मा चौरसियाको चुनाव खर्च ११.४१ लाख, इन्धनमै बढी रकम खर्च

spot_img
spot_img

बीरगन्ज,०८ चैत । पर्सा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेर चुनाव लडेका अजयकुमार चौरसियाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन कार्यालय पर्सामा बुझाएको विवरण अनुसार कुल ११ लाख ४१ हजार ४८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

पूर्वमन्त्रीसमेत रहेका चौरसियाले आफ्ना निर्वाचन प्रतिनिधि रञ्जितकुमार पटेलमार्फत चैत २ गते खर्च विवरण बुझाएका हुन्। उनका अनुसार सबैभन्दा बढी रकम सवारी साधन तथा इन्धनमा खर्च भएको छ, जहाँ मात्रै ३ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको देखाइएको छ।

त्यस्तै, वडास्तरीय प्रचारप्रसार र खाना–नास्तामा २ लाख ५२ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा विविध शीर्षकमा १ लाख ५२ हजार रुपैयाँ र ब्यानर–पम्प्लेटमा १ लाख १० हजार ७४० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

यसैगरी गोष्ठी तथा भेलामा ७८ हजार, डिजिटल मिडियामा ५० हजार ८५०, झण्डामा ४५ हजार २००, ब्यानरमा ४१ हजार ६९७, मतदाता नामावलीमा १६ हजार र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

पर्सा–२ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशीलकुमार कानु ३० हजार ७४० मतसहित विजयी भएका थिए भने चौरसिया ११ हजार ८९० मत ल्याउँदै दोस्रो स्थानमा रहेका थिए। एमालेकी उम्मेदवार रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी थिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय