spot_img

मधेश प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी, जनचेतना र उपचार पहुँच अझै चुनौतीपूर्ण

spot_img
spot_img

काठमाडौँ, १० चैत — विश्व क्षयरोग दिवसका अवसरमा नेपालभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। प्रत्येक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग (टीबी) अन्त्य गर्ने लक्ष्यसहित जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

यस वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ नारासहित कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

मधेश प्रदेशमा सबैभन्दा धेरै बिरामी

नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ। प्रादेशिक तथ्याङ्कअनुसार बिरामी दर्ता सङ्ख्यामा मधेश प्रदेश अग्रस्थानमा रहेको छ, जहाँ ९ हजार ५ सय ९६ जना क्षयरोगी दर्ता भएका छन्।

त्यसपछि बागमती प्रदेशमा ८ हजार ९ सय ३३ र लुम्बिनी प्रदेशमा ७ हजार ८ सय ६२ बिरामी रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ बिरामी भेटिएका छन्।

नेपालमा क्षयरोगको अवस्था

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगी थपिन्छन्। तर तीमध्ये ४१.६ प्रतिशत अर्थात् २७ हजार ८ सय ४९ जना अझै उपचारको दायराभन्दा बाहिर छन्।

त्यस्तै, क्षयरोगका कारण वार्षिक करिब १६ हजार जनाको मृत्यु हुने गरेको छ। साथै, कुल जनसङ्ख्याको झन्डै आधामा ‘सुसुप्त क्षयरोग’ को सङ्क्रमण रहेको अनुमान गरिएको छ।

पुरुषमा बढी संक्रमण

गत आर्थिक वर्षमा ३९ हजार १ सय ५१ जना बिरामी उपचारका लागि दर्ता भएका छन्, जसमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला रहेका छन्।

उमेर समूहअनुसार १५ देखि ६४ वर्षका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित (६८.७ प्रतिशत) छन्। ६५ वर्षमाथिका २५.६ प्रतिशत र १४ वर्षमुनिका ५.६ प्रतिशत बालबालिकामा क्षयरोग देखिएको छ।

कुल बिरामीमध्ये ५८.२९ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग देखिएको छ।

औषधि प्रतिरोधी क्षयरोगको चुनौती

क्षयरोगको अर्को जटिल पक्ष औषधि प्रतिरोधी (डीआर–टीबी) हो। हरेक वर्ष करिब २ हजार ४ सय नयाँ डीआर–टीबी बिरामी थपिने अनुमान गरिए पनि तीमध्ये ७३.९ प्रतिशत अर्थात् १ हजार ७ सय ७५ जना अझै स्वास्थ्य प्रणालीको सम्पर्कमा आएका छैनन्।

यद्यपि उपचार सफलता दर भने सन्तोषजनक देखिएको छ। सामान्य टीबीका बिरामीमा ९२ प्रतिशत र डीआर–टीबीमा ७६ प्रतिशत उपचार सफल भएको तथ्याङ्कले देखाउँछ।

के हो क्षयरोग?

चिकित्सकका अनुसार क्षयरोग सूक्ष्म जीवाणुबाट लाग्ने संक्रामक रोग हो, जसले मुख्यतः फोक्सोमा असर गर्छ तर शरीरका अन्य अङ्गमा पनि फैलिन सक्छ।

लक्षण र बच्ने उपाय

लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्नु र थकान महसुस हुनु क्षयरोगका प्रमुख लक्षण हुन्।

यसका साथै मास्क प्रयोग गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने, संक्रमित व्यक्तिसँग दूरी कायम गर्ने र पोषिलो आहार सेवन गर्ने जस्ता उपाय अपनाउँदा रोगबाट बच्न सकिन्छ।

नेपाल सरकारले क्षयरोगको औषधि सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउँदै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय