बीरगन्ज,१२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेखनीय वृद्धि गरेको छ। बुधबार साँझ सार्वजनिक गरिएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाइएको हो।
नयाँ दर लागू भएसँगै बीरगन्जसहित पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा पुगेको छ, जुन यसअघि १६९ रुपैयाँ ५० पैसा थियो। त्यस्तै दोस्रो वर्गमा १८६ रुपैयाँ र काठमाडौंलगायत तेस्रो वर्गमा पेट्रोल १८७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
डिजेल र मट्टीतेलको मूल्य पनि समान रूपमा वृद्धि गरिएको छ। पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आन्तरिक बजारमा पनि समायोजन गर्नुपरेको जनाएको छ। तर, एकैपटक भएको यो मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने देखिएको छ।
विशेषगरी यातायात भाडा र भान्साको खर्च बढ्ने चिन्तासँगै उपभोक्ताहरू थप आर्थिक दबाबमा पर्ने अवस्था देखिएको छ।




