spot_img

आवेदनकै दिन श्रम स्वीकृति दिने सरकारको तयारी

spot_img
spot_img

काठमाडौं,१६ चैत । वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई सहज बनाउन सरकारले श्रम स्वीकृति प्रणालीमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। अबदेखि श्रम स्वीकृतिका लागि आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था लागू गर्ने निर्णय गरिएको छ।

यसअघि टोकन प्रणालीमार्फत निश्चित मिति कुर्नुपर्ने झन्झट हटाउँदै सेवाग्राहीमैत्री प्रणाली लागू गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। आइतबार मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले सेवा डिजिटल बनाउने योजनाअन्तर्गत पूर्व–प्रस्थान अभिमुखीकरण तालिमलाई पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने तयारी गरेको छ। तालिमका लागि श्रव्य–दृश्य सामग्री तयार गरी डिजिटल माध्यममै उपलब्ध गराइनेछ।

यससँगै सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान सञ्चालन गरिने, न्यूनतम ज्यालाको कार्यान्वयन कडाइका साथ गरिने तथा श्रमाधान कल सेन्टरलाई अझ प्रभावकारी बनाइने योजना अघि सारिएको छ।

मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, श्रमिकको सुरक्षा सुनिश्चितता र कार्यस्थलको अवस्था सुधार गर्न थप कदम चाल्ने जनाएको छ। साथै, आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सीप विकास तालिम, निजी क्षेत्रसँग सहकार्यमा ‘सीप मेला’ आयोजना र नयाँ श्रम सम्झौताहरू विस्तार गर्ने तयारी पनि गरिएको छ।

सरकारको यो निर्णयले श्रम स्वीकृति प्रक्रियालाई छिटो, पारदर्शी र झन्झटरहित बनाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय