वीरगन्ज,१६ चैत । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। ‘जेन–जी’ आन्दोलन दमनसँग सम्बन्धित आरोपमा पक्राउ परेपछि गरिएको स्वास्थ्य परीक्षणका क्रममा समस्या देखिएपछि उनलाई अस्पतालमै भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार ओलीको मुटुको चालमा अनियमितता देखिएको छ। मुटुको गतिविधि निरन्तर निगरानी गर्न चिकित्सकहरूले ‘हल्टर मोनिटर’ प्रयोग गरिरहेका छन्, जसबाट २४–४८ घण्टासम्म मुटुको अवस्था सूक्ष्म रूपमा परीक्षण गरिन्छ।
उनको उपचार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको छ। मुटुको परीक्षण रिपोर्ट आएपछि मात्र थप उपचार वा शल्यक्रियाबारे निर्णय लिने तयारी गरिएको छ।
यसका साथै ओलीमा पित्तथैलीमा पत्थरीसमेत देखिएको चिकित्सकहरूले बताएका छन्। यद्यपि, स्वास्थ्य अवस्था संवेदनशील भएकाले तुरुन्तै शल्यक्रिया गर्ने विषयमा निर्णय भइसकेको छैन।
ओली यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन्। साथै उनी मधुमेह, उच्च रक्तचाप र थाइराइडसम्बन्धी समस्याबाट पनि प्रभावित छन्, जसका कारण उनको स्वास्थ्य व्यवस्थापन चुनौतीपूर्ण बनेको चिकित्सकहरूको भनाइ छ। हाल उनी विशेष निगरानीमा राखिएको र परीक्षणको नतिजापछि उपचारको आगामी योजना तय गरिने अस्पतालले जनाएको छ।

