काठमाडौँ,१६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी बहुचर्चित राहदानी दुरुपयोग मुद्दाको सुनुवाइ सोमबार पुनः स्थगित भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिए पनि बेन्च बस्न नसकेपछि सुनुवाइ अघि बढ्न सकेन।
अदालत स्रोतका अनुसार सोही दिन न्यायाधीश रेग्मी र पोखरेलका एकल इजलासमा पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण मुद्दामा लामो बहस चलेका कारण संयुक्त इजलासका लागि समय अभाव भएको हो।
यो मुद्दा तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते गरेको निर्णयसँग सम्बन्धित छ, जसमा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने भनिएको थियो। उक्त निर्णय कानुनविपरीत भएको दाबी गर्दै युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दायर गरेका थिए।
निवेदक पक्षले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली राहदानी प्राप्त गर्दा कानुनी प्रक्रिया उल्लंघन भएको दाबी गर्दै आएको छ।
यसअघि सर्वोच्चले तीन पटकसम्म सम्बन्धित फाइल झिकाउने आदेश दिइसकेको भए पनि मुद्दामा ठोस सुनुवाइ अघि बढ्न सकेको छैन।




