काठमाडौँ,१६ चैत । बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
उनीलाई सरकारी वकिलको कार्यालयमार्फत सोमबार अदालत उपस्थित गराइएको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको थियो।
शर्माको निवासबाट २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले एक नाबालिकाको उद्धार गरेको थियो। ती बालिकालाई घरेलु कामदारका रूपमा राखी हिंसा गरिएको आरोपपछि उद्धार गरिएको बताइएको छ।
घटनाबारे तत्कालीन समयमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भए पनि उनी पक्राउ नपरेको भन्दै आलोचना भएको थियो। पछि मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ता कार्यालयबाट भएको थियो।
तर हालको अनुसन्धान र प्रक्रियाअनुसार उनी पक्राउ परेपछि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।




