काठमाडौं,१७ चैत । कृषि विभाग ले यस वर्षको चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि सरकारलाई सिफारिस गरेको छ।
विभागले देशभरका २५ जिल्लामा गरेको स्थलगत अध्ययन तथा लागत विश्लेषणका आधारमा तयार पारिएको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालय मा पठाएको जनाएको छ।
महानिर्देशक प्रकाश सञ्जेल का अनुसार बीउ, मल, श्रम, ढुवानी खर्च, मुद्रास्फीति र बजार मूल्यलाई आधार मानेर वैज्ञानिक ढंगले समर्थन मूल्य सिफारिस गरिएको हो। यसले किसानलाई लगानीअनुसार उचित प्रतिफल सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशी ले सरोकारवालासँग छलफल पूरा भइसकेको र अब प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्रिपरिषद्को निर्णयपछि नयाँ समर्थन मूल्य सार्वजनिक गरिनेछ।
गत वर्ष सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २,८०० रुपैयाँ तोकेको थियो। यस वर्ष भने धानको गुणस्तर कायम राख्न १८ प्रतिशतसम्म चिस्यानको मापदण्ड निर्धारण गरिएको छ। सो मापदण्डभित्रको धानमा पूर्ण मूल्य लागू हुनेछ भने चिस्यान बढी भए तौल घटाउने व्यवस्था गरिनेछ।
सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत किसानको धान खरिद गरिनेछ। सिजन सुरु भएसँगै किसानहरूले यस वर्ष समयमै उचित मूल्य पाउने अपेक्षा गरेका छन्।




