काठमाडौँ,१७ चैत । नेपालको न्यायपालिकाले दोस्रो पटक महिला नेतृत्व पाउने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाशमा गएसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नेछिन्।
यसअघि सुशीला कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि नेपालमा महिला नेतृत्वको ऐतिहासिक उपस्थिति देखिएको थियो। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी, कार्की रओनसरी घर्ती गरी तीन प्रमुख संवैधानिक पदमा महिलाको प्रतिनिधित्व रहेको थियो।
२०७३ सालमा सर्वोच्च अदालत प्रवेश गरेका राउत करिब डेढ वर्ष प्रधानन्यायाधीशका रूपमा कार्यरत रहेपछि अवकाशमा गएका हुन्।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ६ जनाको नाम सिफारिस गरिसकेको भए पनि संवैधानिक परिषद् पूर्ण नहुँदा तत्काल नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।
संवैधानिक परिषद्मा आवश्यक सदस्य संख्या नपुगेकाले बैठक बस्न नसकेको अवस्था छ। प्रतिनिधिसभाको आगामी बैठकपछि सभामुख, उपसभामुख र विपक्षी दलको नेता चयन भएसँगै परिषद् पूर्ण हुने अपेक्षा गरिएको छ।
त्यसपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। तबसम्म मल्लले कायममुकायम रूपमा न्यायालयको नेतृत्व गर्नेछिन्।




