बीरगन्ज,१७ चैत । बाराको सिमरामा प्रत्येक वर्ष आयोजना हुँदै आएको जीतपुर–सिमरा क्रिकेट कपले यस वर्ष एनपीएल फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स को साथ पाएको छ। तेस्रो संस्करणको प्रतियोगिता आगामी चैत २१ गतेदेखि सुरु हुने तयारी भइरहेको छ।
जीतपुर–सिमरा स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको प्रतियोगितालाई सफल बनाउन जनकपुर बोल्ट्सले आयोजक क्लब र खेलाडीका लागि जर्सी सहयोग गरेको छ। यसबारे जानकारी दिन सिमरामा आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले जर्सी हस्तान्तरण गरेका हुन्। संस्थापक उत्सव सिग्देल हाल बेल्जियममा जारी इयू टी–२० लिगमा व्यस्त रहेका छन्।
महेश सिग्देलले नेपालमा क्रिकेट विकासका लागि आफूहरू निरन्तर लागिरहेको उल्लेख गर्दै खेलले राष्ट्रिय एकता र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले जीतपुर–सिमरा कपलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, स्थानीय सरकारले जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माण गर्ने योजना पनि अघि सारे।
पत्रकार सम्मेलनमा जीतपुर–सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले जनकपुर बोल्ट्सको सहयोगको प्रशंसा गर्दै खेलकुद पूर्वाधार विकासका लागि आवश्यक छलफल गरिने बताए। त्यसैगरी विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले पनि प्रतियोगिताको सफलताका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। क्लब अध्यक्ष सोमलाल बम्जनले सबै पक्षको सहयोगले मात्र प्रतियोगिता सफल हुने बताए।
प्रतियोगितामा बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टिमहरूको सहभागिता रहनेछ। विजेता टिमले रु २ लाख र उपविजेताले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशी वृद्धि गरिएको हो। उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट बलर र ब्याटरलाई जनही ५ हजार प्रदान गरिनेछ।




