सर्लाही,१९ चैत । सर्लाहीको गोडैता नगरपालिका–५ रामवन क्षेत्रमा दुई किशोरी मृत अवस्थामा फेला परेकी छन्। दुवै जना एउटै स्थानमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६ सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन्।
प्रहरी प्रवक्ता सरोज राई का अनुसार स्थानीयवासीले घटना देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि पुगेको टोलीले दुवै किशोरीलाई मृत अवस्थामा फेला पारेको हो।
शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

