काठमाडौं,२० चैत । मुग्लिङ–मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित घोप्टेभिर क्षेत्रमा जारी भित्ता कटिङ कार्यका कारण सडकखण्ड रातिको समयमा थप तीन दिन बन्द गरिने भएको छ।
यसअघि तोकिएको समयसीमा सकिएपछि पनि काम बाँकी रहेकाले सडक बन्द अवधि थप गरिएको प्रहरीले जनाएको छ। सडक सुरक्षा कायम राख्दै निर्माण कार्यलाई व्यवस्थित बनाउन रातिको समयमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको हो।
प्रहरीका अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको छ।
सडक योजनाका अनुसार यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको कामलाई तीव्रता दिइनेछ। यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा समय व्यवस्थापन गर्न समेत अनुरोध गरिएको छ।
सडक विस्तार तथा सुरक्षाका लागि जारी काम सम्पन्न भएपछि यातायात सेवा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।




