काठमाडौँ,२६ चैत । यात्रुहरूको स्वास्थ्य सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी)’ उपकरण सञ्चालनमा ल्याइएको छ।
विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आकस्मिक स्वास्थ्य समस्या देखिएका यात्रुहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन र सम्भावित ज्यान जोखिम घटाउन यो उपकरण प्रयोगमा ल्याइएको हो।
विमानस्थल परिसरमा यात्रा गर्ने क्रममा अचानक बेहोस हुने, श्वासप्रश्वासमा समस्या आउने वा मुटु सम्बन्धी जटिलता देखिने अवस्थालाई ध्यानमा राख्दै ‘एईडी’ उपकरणले आपतकालीन अवस्थामा जीवनरक्षा गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यालयले जनाएको अनुसार यो उपकरण अस्पताल पुर्याउनुअघि नै प्रभावित व्यक्तिलाई प्रारम्भिक उपचार दिन सक्षम भएकाले आकस्मिक अवस्थामा अत्यन्त उपयोगी मानिन्छ।
सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा विमानस्थलका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विशेष तालिम पनि प्रदान गरिएको छ। हेल्थ डेस्क, केएमसी अस्पताल र ह्याम्स अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई उपकरण प्रयोग गर्ने विधि र प्रक्रियाबारे प्रशिक्षण दिइएको छ।
विमानस्थल प्रशासनले यो पहलले यात्रु तथा सेवा प्रयोगकर्ताको स्वास्थ्य सुरक्षामा थप सुधार आउने अपेक्षा गरेको छ।

