काठमाडौँ,२६ चैत । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ९३ (२) बमोजिम संसद्को अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिनेछ।
चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति पौडेलले सो निर्णय गरेका हुन्। अधिवेशन अन्त्य सम्बन्धी औपचारिक सूचना राष्ट्रपति कार्यालयले जारी गरिसकेको छ।
यसैबीच राष्ट्रपति पौडेलले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। निर्वाचनपछि बसेको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ।

