जनकपुर,०४ वैशाख । मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गएराति भएको आगलागीबाट ठूलो आर्थिक क्षति भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब १५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।
रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ता का अनुसार आगलागीका कारण उद्योगमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट आएका पाँच वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना को संयुक्त टोली परिचालन गरिएको थियो। करिब दुई घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसी का अनुसार आगलागीको कारण हालसम्म खुलेको छैन। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको छ र यसको पूर्ण विवरण आउन अझ केही दिन लाग्ने जनाइएको छ।

