पाँचौं परवानीपुर गोल्डकप शनिबारदेखि सुरु

spot_img

बीरगन्ज,०३ वैशाख । आगामी शनिबारदेखि पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ। आयोजक शक्ति युवा क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

परवानीपुर खेल मैदानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सबै व्यवस्थापन पूरा भएको जानकारी दिइयो।

प्रतियोगितामा भारतको एक टोलीसहित नेपालका सात टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ। संयोजक संजय मण्डलका अनुसार आयोजक शक्ति युवा क्लब, बीरगन्ज युनाइटेड क्लब, बीरगन्ज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, नव जनजागृति युवा क्लब सिमरा, चिडियादह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब प्रतिस्पर्धामा उत्रिनेछन्।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिता करिब १७ लाख रुपैयाँको लागतमा सञ्चालन हुने सहसंयोजक दीपक यादव ले जानकारी दिए।

प्रतियोगिता प्रत्येक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवका अनुसार उत्कृष्ट डिफेन्डर, फरवार्ड तथा दैनिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताभरिका उत्कृष्ट खेलाडीलाई ५१०० रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगिता सफल बनाउन स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सञ्चारकर्मीको सहयोग अपेक्षित गरिएको छ।

कार्यक्रममा क्लबका पदाधिकारी, पूर्व खेलाडी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसअघि आयोजित अन्तरक्रियामा सहभागीहरूले खेलकुदलाई राजनीतिबाट अलग राख्दै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय