काठमाडौं,२२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध भइरहेको खेलमा नेपाली ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । उनले संयमित ब्याटिङ गर्दै नेपाललाई सुरुवाती दबाबबाट बाहिर निकाल्ने प्रयास गरेका हुन् ।
आसिफले ६६ बलमा ५ चौका र १ छक्काको मद्दतमा आफ्नो १४औँ एकदिवसीय अर्धशतक पूरा गरे । सुरुवातमै विनोद भण्डारी शून्यमै आउट भएपछि दबाबमा परेको नेपालको इनिङ्सलाई उनले अर्जुन कुमालसँग मिलेर सम्हालेका थिए ।
दुवैले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपाललाई मजबुत अवस्थामा पुर्याएका छन् । ओडीआई क्रिकेटमा नेपालका लागि एक शतकसहित निरन्तर प्रदर्शन गर्दै आएका आसिफ सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा छन् ।
यूएईविरुद्धको अघिल्लो खेलमा बेन्चमा रहेका आसिफले टोलीमा पुनरागमन गर्दै महत्वपूर्ण इनिङ्स खेलेका हुन् ।

