सुनसरी,२५ वैशाख । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुर क्षेत्रका ३८ वर्षीय चक्रबहादुर जिमी रहेका छन्।
प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र गैसार सामुदायिक प्रहरी बिटबाट खटिएको संयुक्त टोलीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट प्रहरीले २४ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। साथै को ३९ प ३१२३ नम्बरको मोटरसाइकल, करिब १९ हजार ९८० रुपैयाँ नगद र एक थान मोबाइल फोन समेत बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




