spot_img

मुख्यमन्त्री यादवविरुद्ध मतदान गर्न जनमतको ह्वीप

spot_img
spot_img

जनकपुर,०१ जेठ । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। पार्टीले सबै सांसदलाई प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर सरकारविरुद्ध मतदान गर्न निर्देशन दिएको हो।

बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्री यादवको विश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गर्दै सोहीअनुसार ह्वीप जारी गरेको जनाएको छ।

जनमत संसदीय दलका नेता चन्दनकुमार सिंहद्वारा जारी निर्देशनपत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार संसदीय दलको निर्णय पालना गर्न सबै सांसदलाई बाध्यकारी निर्देशन दिइएको उल्लेख छ।

जनमत पार्टीले गत वैशाख २१ गते नै मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यद्यपि, पार्टीका तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री महेशप्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै रहेका छन्।

पार्टीले समर्थन फिर्ता लिएपछि पनि मन्त्रीद्वयले राजीनामा नदिएको विषयलाई लिएर जनमतभित्र आन्तरिक विवाद चर्किएको छ। यही विवादपछि जनमतले संसदीय दलको नेताबाट महेशप्रसाद यादवलाई हटाएर चन्दनकुमार सिंहलाई जिम्मेवारी दिएको थियो।

हाल १०७ सदस्यीय मधेश प्रदेश सभामा जनमत पार्टीका १२ सांसद रहेका छन्। जनमतको समर्थन फिर्तासँगै प्रदेश सरकारको समीकरणलाई लिएर राजनीतिक चासो बढेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय